दूरदराजका विद्यार्थीसम्म शिक्षाको पहुँच पुर्याउँदै नेपाल टेलिभिजन

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनले विद्यालय तहको कक्षा १ देखि १० सम्मका विभिन्न श्रव्यदृश्य पाठ्य सामग्रीहरु प्रसारण गर्ने भएको छ । शिक्षा विभागबाट उत्पादन गरिएका श्रव्यदृश्यसहितका पाठ्य सामाग्री नेपाल टेलिभिजनले प्रसारण गर्नेछ ।
यस सम्बन्धी सम्झौता पत्रमा शिक्षा विभाग र सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनबीच आज सम्झौता भएको हो।
सम्झौता पत्रमा शिक्षा विभागका उपमहानिर्देशक लक्ष्मीप्रसाद भट्टराई र सार्वजनिक सेवा प्रसारण (पीएसबी)की कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापछि शिक्षा विभागका महानिर्देशक अणप्रसाद न्यौपानेले भौगोलिक विकटता तथा अन्य कारणले शैक्षिक अवसरबाट वञ्चित विद्यार्थीलाई समान अवसर प्रदान गर्दै उनीहरूको सिकाइ उपलब्धि र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले श्रव्यदृश्य सामग्रीहरु उत्पादन गरिएको बताउनुभयो ।
यसैगरी, सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वसी बस्न्यातले विभागले उत्पादन गरेका कार्यक्रम शिक्षक र विद्यार्थी दुवैका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । दूर दराजका विद्यार्थिहरुका लागि यस्ता उपयोगी सामाग्री पुर्याउनु पिएसबीको दायित्व भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालकी कामु प्रमुख प्रशासकीय अधिकृत चटौतले डिजिटल पहुँच नभएका नागरिकलाई शिक्षाको अधिकारबाट बञ्चित हुन नदिन सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत दूर शिक्षालाई राष्ट्रिय प्राथमिकताका रुपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाल टेलिभिजनले स्थापना कालदेखिनै दूरशिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।।






प्रतिक्रिया राख्नुहोस्