रोबोटिक्स, स्वास्थ्य र सिर्जनशीलताको संगम बन्यो जुम्लाको ‘प्रोजेक्ट प्रयास’

काठमाडौँ- रोबो युवा संस्थाले जुम्लाको गुठीचौर गाउँपालिका–५, झारजौलामा सञ्चालन गरेको १० दिने शैक्षिक तथा सामाजिक कार्यक्रम ‘प्रोजेक्ट प्रयास’ सम्पन्न गरेको छ ।
ग्रामीण क्षेत्रका बालबालिकालाई आधुनिक प्रविधि, सिर्जनशीलता र व्यवहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा करिब २०० विद्यार्थी सहभागी भएका थिए ।
कार्यक्रम अन्तर्गत कक्षा ६ भन्दा माथिका विद्यार्थीलाई रोबोटिक्ससम्बन्धी आधारभूत ज्ञान र प्रयोगात्मक अभ्यास गराइएको थियो भने तल्लो कक्षाका विद्यार्थीलाई चित्रकला तथा सिर्जनात्मक गतिविधिमार्फत कला शिक्षा प्रदान गरिएको थियो ।
विद्यार्थीलाई सामाजिक तथा व्यवहारिक विषयमा सचेत गराउन जनचेतनामूलक कक्षासमेत सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
शैक्षिक गतिविधिसँगै संस्थाले स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
स्वास्थ्य शिविरबाट करिब ३०० स्थानीय बासिन्दा लाभान्वित भएका थिए ।
परियोजनाको अन्तिम दिन विद्यार्थीले आफूले सिकेका ज्ञान र सीप प्रयोग गरी विभिन्न रोबोटिक्स तथा सिर्जनात्मक परियोजना प्रस्तुत गरेका थिए ।
उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो भने समापनका अवसरमा खाद्यान्न वितरणसमेत गरिएको थियो ।
शिक्षा, स्वास्थ्य, प्रविधि र सामाजिक सेवालाई एकैसाथ जोडेर सञ्चालन गरिएको परियोजनाले ग्रामीण क्षेत्रका बालबालिकामा प्रविधिप्रतिको रुचि, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्न योगदान पुर्याएको संस्थाकी प्राश्ना सिंखडाले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्