चालु आर्थिक बर्षको तीन महिनामा मुद्रास्फीति ६ दशमलव ३७ प्रतिशत

काठमाडौँ- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) छ दशमलव ३७ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति रु ४१ खर्ब १४ अर्ब पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड डलर रहेको छ । उक्त सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ७९ अर्ब ११ करोड र शोधनान्तर स्थिति रु तीन खर्ब तीन अर्ब ७९ करोड बचतमा रहेको छ ।
यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै विप्रेषण आप्रवाह रु दुई खर्ब ६७ अर्ब ३४ करोड रहेको छ ।
त्यस्तै, समीक्षा अवधिमा निर्यात ५७ प्रतिशत र आयात ३८.२ प्रतिशतले बढेको छ । नेपाल सरकारको कुल खर्च रु तीन खर्ब ९६ अर्ब २७ करोड रहेको छ भने राजस्व परिचालन रु दुई खर्ब ९८ अर्ब ६१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, विस्तृत मुद्राप्रदाय चार दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन दुई दशमलव आठ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव सात प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर आठ दशमलव तीन प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर दुई दशमलव ७५ प्रतिशत रहेको छ भने ९१ दिने अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर एक दशमलव ०१ प्रतिशत रहेको छ ।
त्यसैगरी, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर छ दशमलव ३१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्