आर्थिक वृद्धि दर घट्यो,कृषि उत्पादन र औद्योगिक क्षमता उपयोग पनि कमजोर

काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर घटेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा चार दशमलव ४३ प्रतिशत आर्थिक वृद्धि भएकामा गत आर्थिक वर्षमा वृद्धिदर घटेको हो ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । औद्योगिक क्षेत्रको अवस्था पनि कमजोर देखिएको छ ।
अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८ दशमलव १३ प्रतिशतमा सीमित भएको छ । यद्यपि, सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या शून्य दशमलव ९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ ।
यसैगरी, गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ दशमलव ७२ प्रतिशत र कर्जा प्रवाह छ दशमलव ५५ प्रतिशतले बढेको छ ।
वैदेशिक व्यापारतर्फ कुल वस्तु निर्यात १३ दशमलव ८१ प्रतिशतले वृद्धि भई तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने आयात १६ दशमलव २० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च रहेकाले नेपालको व्यापार असन्तुलनको चुनौती कायमै रहेको प्रतिवेदनले देखाएको छ ।






प्रतिक्रिया राख्नुहोस्