शिरिस्थानको ज्वालाबाट ‘दशौँ राष्ट्रिय खेलकुद’को ट्रफी टुर सुरु

दैलेख, ११ मङ्सिर: कर्णाली प्रदेशको राजधानीबाट सबैभन्दा नजिकको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको जिल्ला दैलेखको प्रसिद्ध शिरिस्थान मन्दिरको अखण्ड दीप (मूल ज्वाला)बाट आगो प्रज्ज्वलन गरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘ट्रफी टुर’ अभियान सुरु गरिएको छ ।
सुर्खेतबाट आएको विशेष टोलीले शिरिस्थान मन्दिरस्थित मूल ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी आज अभियानको शुभारम्भ गरेको हो । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव रवीन चन्दले कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायालाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै ट्रफी टुरको औपचारिक उद्घाटन गर्नुभएको थियो । अभियानको सुरुआतसँगै दैलेख सदरमुकाम दैलेख बजारमा समेत भव्य परिक्रमा गरिएको छ ।
उद्घाटन समारोहमा सदस्यसचिव चन्दले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशकै गौरव, प्रतिष्ठा र पहिचान स्थापित गर्न ऐतिहासिक कोसेढुङ्गा सावित हुने बताउनुभयो । ट्रफी टुरमा सहभागी ओलम्पियन दीपक विष्ट, साग गेम्सका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराते खेलाडी मण्डेकाजी श्रेष्ठसहितको विशिष्ट खेलकुद टोलीलाई दैलेखको नारायण नगरपालिका र भैरवी गाउँपालिकाले भव्य स्वागत तथा सम्मान गरेको छ ।
टोलीलाई सम्मान गर्दै नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले शिरिस्थान मन्दिरको मूल ज्वाला बालेर राष्ट्रिय खेलकुदको अभियान सुरु गर्नुले दैलेखबाट देशभर नयाँ र सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दैलेखको ऐतिहासिक ज्वालालाई राष्ट्रियस्तरमा महत्व दिनु भनेको दैलेखलाई विश्वमाझ चिनाउनु हो । यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउनुका साथै भोलिका दिनमा दैलेखको खेलकुद र समग्र विकासका लागि केन्द्रसम्म सहज पहुँच पुग्ने परिस्थिति सृजना गराउनेछ ।” यो सन्देशले दैलेखको पहिचान र पहुँच छिट्टै राष्ट्रियस्तरमा स्थापित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
दैलेखबाट सुरु भएको उक्त टर्च यात्रा कालीकोट, जुम्ला, मुगु हुँदै कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालसम्म पुर्‍याउने उद्देश्य राखिएको छ । ट्रफी टुर समापनपछि आगामी मङ्सिर १५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ट्रफी अनावरण गर्ने कार्यक्रम तय गरिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते गरिने भए तापनि विभिन्न खेलका प्रतिस्पर्धाहरू भने मङ्सिर ८ गतेबाटै सुरु भइसकेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.