राजनीतिक वातावरण फरक भए पनि भूमि आयोगको काम रोकिँदैनः मन्त्री तुम्बाहाङ्फे

जनकपुर– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले राजनीतिक वातावरण फरक भए पनि भूमि आयोगको काम नरोकिने स्पष्ट पार्नुभएको छ ।

जनकपुरमा भूमि समस्या समाधान आयोगले आयोजना गरेको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै मन्त्री तुम्बाहाङ्फेले संवैधानिकरुपमा नै गठन भएको आयोगका काम नरोकिने बताउनुभएको हो । ‘संवैधानिक, कानूनीरुपले गठन भएकाले आयोगले काम सम्पन्न गर्नेतिर लाग्नुहोला, राजनीतिक वातावरण फरक भए पनि प्रभावित नहुनुस्,’ उहाँले आयोगका पदाधिकारीलाई भन्नुभयो, ‘विगतमा पनि अस्थिरताले काम पूरा नभइ आयोग विघटन भएका छन्, तपाईंहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुहोला ।’

फरक राजनीतिक परिस्थितिका कारण प्रदेश २ का मुख्यमन्त्री र भूमि व्यवस्था मन्त्री कार्यक्रममा नआएकोमा पनि मन्त्री तुम्बाहाङ्फेले असन्तुष्टि प्रकट गर्नुभयो । उहाँले भूमि समस्या एउटा राजनीतिक दलको मात्र समस्या नभएको बताउँदै सबैको साझा समस्याकोरुपमा बुझिदिन आग्रह गर्नुभयो ।

भूमि समस्या समाधान आयोगका धेरै काम स्थानीय तहबाट हुने भएकाले सजगतापूर्वक काम गर्न जनप्रतिनिधिलाई अपिल गर्नुभयो । ‘स्थानीय तहका जनप्रतिनिधिमध्ये वडाध्यक्ष र सदस्यहरुले धेरै काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘कसैबाट प्रभावित नहुनुहोला, गलत काम गरेमा कानूनी दायरामा आउनुपर्छ, कानूनीरुपमै दण्ड सजायको व्यवस्था गरिएको छ ।’ उहाँले राजनीतिक संरक्षण पाउँछु भन्ने नसोच्न पनि जनप्रतिनिधिलाई स्मरण गराउनुभयो ।

मन्त्री तुम्बाहाङ्फले जग्गा पाउने खोलमा वन मासेर जबर्जस्ती छाप्रा बनाउने गरिएको बताउँदै त्यस्ता घर टहरा हटाउन वन कार्यालय र प्रशासनलाई निर्देशन दिनुभयो । ‘किनभने नागरिकको बसोबासको व्यवस्था गर्दछ,’ उहाँले भन्नुभयो, ‘वास्तविक सुकुम्बासीलाई राज्यले बसोबासको व्यवस्था गर्दछ ।’

उहाँले आयोगले काम गरेपछि फर्जी अंशबण्डा गरेको भनेर जानकारीमा आएकाले त्यस्तो झुटो विवरण लेखाएको अवस्थामा बदर हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.