केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन् : बस्नेत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ९२ सांसद पुग्ने दाबी गर्नुभएको छ । फेरि पनि प्रधानमन्त्री ओलीले नै निरन्तरता पाउने उहाँको भनाइ छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझाव समेत दिनुभयो । ‘जतिसक्दो चाँडो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस्,’ उहाँको भनाइ छ ।

केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने बताउँदै बस्नेतले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको र एकताको लागि धेरै जटिलता रहेको सुनाए ।

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको फैसला आएपछि ढंग पुर्‍याइएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आंकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्था पनि आउने बस्नेतको भनाइ छ ।

बस्नेतले अबको केही दिनभित्रै वामदेव गौतमपनि ओली पक्षमै खुल्ने पनि खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, ‘वामदेव गौतम जबजको व्याख्याता र केपी ओलीले नेतृत्व गरेको नेकपाको सशक्त नेता हो, अब केही दिनभित्रै यो कुरा क्लियर हुन्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.