नेपाली सेनाले चेपाङको घर आगजनी गरेकोमा आयोग गम्भीर

सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा सम्पत्तिको हक संरक्षण गर्न आग्रह

काठमाडौं– चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा सुकुम्बासी चेपाङ्ग समुदायको घरहरूमा नेपाली सेनाले भत्काएको र आगजनी गरेकोमा राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै दुईवटा घरमा आगजनी गर्नुका साथै आठवटा घरहरूमा हात्ती लगाएर भत्काएको थियो । यसैगरी, राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङ्गको निकुञ्जमा खटिएका नेपाली सेनाले साउन १ गते नियन्त्रणमा लिई कुटपीट गर्दा उनको मृत्यु भएको पीडितको दाबी छ ।

घटनाबारे आयोगको बागमती प्रदेश कार्यालय सानेपाले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ ।

आयोगले नागरिकको जीउधन र निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाबाट गरिएको भनिएको कार्यको प्रकृतिबाट नेपालको संविधानको धारा १६, २२, ३७, ४२, नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा ६, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा ११ तथा आइएलओ महासन्धि नं. १६९ विपरीत रहेको बताएको छ । ‘यस प्रकृतिका कार्यबाट व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित हुन पुगेको तथा सामाजिक न्याय, आवासको हक लगायतका अधिकारहरूको समेत उल्लंघन हुन गएको देखिन्छ,’ आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

आयोगले संवेदनहीनतापूर्वक आगजनी गरी, घर भत्काई विस्थापित तुल्याइएका व्यक्तिहरुको उचित बासको लागि तत्कालै बैकल्पिक व्यवस्था गरी आवासको हक सुनिश्चित गर्न, दुवै घटनाको निष्पक्ष छानविनमार्फत घटनामा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन तथा मृतक राजकुमार चेपाङ्गको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.