गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड सिल

सप्तरी- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड गएराति १२ बजेपछि ‘सिल’गरिएको छ । अस्पतालमा उपचाररत एक जना बिरामीमा हिजो कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको इमर्जेन्सी वार्डलाई सिल गरिएको हो ।
इमर्जेन्सी वार्डमा उपचाररत तिलाठी कोइलाडी गाउँपालिकाका-२ का ४८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि इमर्जेन्सी वार्ड सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले बताउनुभयो ।
विषादी सेवनका कारण करिब तीन दिनदेखि इमर्जेन्सीमा उपचार गराइरहेका पुरुषको उपचारमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संलग्न भएको पाइएको प्रमुख यादवले जानकारी दिनुभयो । यसअघि पनि गजेन्द्रनारायण सिंह अस्पतालमा एक जना नर्स र एक जना स्वीपरमा कोरोनाको सङ्क्रमण भेटिएको थियो ।
यसैबीच अस्पतालका चिकित्सक र कर्मचारीसहित १ सय ७६ जनाको स्वाव सङ्कलन गरी परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।-






प्रतिक्रिया राख्नुहोस्