मुस्लिम प्रोफाइल बनाउँदै आयोग

नेपालमा मुस्लिमहरुको इतिहास र वर्तमान अवस्थाबारे अहिलेसम्म खोजबिन भएको छैनः अध्यक्ष अन्सारी

काठमाडौं– मुस्लिम आयोगले नेपालमा मुस्लिमहरुको इतिहास र वर्तमान अवस्थाबारे जानकारी दिन ‘मुस्लिम प्रोफाइल’ बनाउने भएको छ ।

राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष समिम मियाँ अन्सारीले नेपालका मुस्लिम समूदायको विस्तृत जानकारी दिन प्रोफाइल बनाउन लागिएको हो । ‘नेपालमा मुस्लिमहरुको इतिहास र वर्तमान अवस्थाबारे अहिलेसम्म खोजबिन भएको छैन,’ उहाँले भन्नुभयो, ‘छिट्टै आयोगले प्रोफाइल निर्माणको काम सुरु गर्दैछ ।’

आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने जानकारी दिएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै आयोगले थर सूचीकृत गर्ने काम सुरु भएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो । हालसम्म ४५ वटा थर सूचीकृत भएको जानकारी दिँदै उहाँले त्यसलाई अन्तिम रुप दिन बाँकी रहेकाले अझै बढ्न सक्ने बताउनुभयो ।

आयोगले मुस्लिम समूदायको अधिक बसोबास रहेका मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पा जिल्लामा आर्थिक, सामाजिक, शैक्षिक एवं पेसागत अवस्था र जनसंख्या आदिको आधारमा मुस्लिम समूदायको पहिचान सम्बन्धी अध्ययन प्रतिवेदन पनि तयार गरेको छ । यसैगरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जामा २३६ मदरसा सम्बन्धी तथ्यांक र सूचनासहितको प्रतिवेदन तयार भएको छ ।

आयोगले अघिल्लो वर्षजस्तै गत आर्थिक वर्षमा पनि लोकसेवा तयारी कक्षा, सिलाइ कटाइ, ब्यूटी पार्लर, सवारी साधन मर्मतलगायतका तालिम आयोजना गरेको छ ।

मुस्लिम आयोगले कोरोना भाइरस महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारलाई सहयोग गर्ने र आवश्यक जनचेतनाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

आयोगले गत आर्थिक वर्षमा समग्रमा ४९ प्रतिशत खर्च गरेको छ । तर, अध्ययन अनुसन्धानमा भने ९० प्रतिशतभन्दा बढी खर्च गरेको आयोगका प्रवक्ता अनिल खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.