माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित
अरु राजनीतिक दलहरुसँग छलफल गर्ने भन्दै बैठक स्थगित गरिएको नेता श्रेष्ठको भनाइ
काठमाडौं- नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
पछिल्लो राजनीतिक अवस्थाका बारेमा अरु दलहरुसँग छलफल गर्नुपर्ने भएको र छलफलमा शीर्ष नेताहरु सहभागी हुनुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले नेपालटीभी अनलाइनलाई जानकारी दिनुभयो ।
आज अरु दलहरुसँग बैठक बस्ने विषयमा सोधिएको प्रश्नमा भने नेता श्रेष्ठले समय तय भइनसकेको बताउनुभयो ।
उहाँले स्थायी कमिटीको बैठक भोलि बस्ने जानकारी दिनुभएको छ ।
नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको सरकार परिवर्तन गर्न अरु विपक्षी दलहरुसँगको छलफललाई निरन्तरता दिँदै आएको छ ।
हिजो मात्र अध्यक्ष प्रचण्डले दलहरुसँगको राजनीतिक वार्ता निकै सकारात्मक भएको भन्दै केहीदिनमा नै नयाँ समाचार दिने आश्वासन चितवनमा आयोजित कार्यक्रममा बताउनुभएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्