उपप्रधानमन्त्री पोखरेलसँग अमेरिकी राजदूतको भेटवार्ता
काठमाडौं- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भएका प्रयासका साथै द्विपक्षीय हित र सरोकारका विभिन्न विषयमा छलफल भएको थियो ।
उपप्रधानमन्त्री पोखरेलले महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ सङ्क्रामक रोगलाई नियन्त्रण गर्न नेपाल सरकारका तर्फबाट भइरहेका कार्यबारे प्रकाश पार्दै कोभिड-१९ सङ्क्रमणविरुद्ध लड्न संयुक्त राज्य अमेरिकालगायत मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
उहाँले सङ्क्रमणको नियन्त्रणसँगै आर्थिक तथा सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गर्दै जानुपर्ने चुनौतीका बीच नेपाल सरकारले उच्च सतर्कता अपनाएर कार्य गरिरहेको बताउनुभयो ।
उपप्रधानमन्त्रीले संयुक्त राज्य अमेरिकामा कोभिड–१९ सङ्क्रमणका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यसको बाबजुद अमेरिकाले नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि उपलब्ध गराएको सहायताको सराहना गर्नुभयो ।
वार्ताका क्रममा माननीय उपप्रधानमन्त्री पोखरेलले संयुक्त राज्य अमेरिका र नेपाल दुवै लामो समयदेखि असल मित्रका रूपमा रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिका सरकारले पु¥याएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
राजदूतले बेरीले नेपालले कोभिड–१९ रोगको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गर्दै सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन सामाजिक दूरी कायम गर्ने लगायतका उपायलाई प्राथमिकताका साथ अवलम्बन गर्न उपयोगी हुने कुरा बताउनुभयो ।
कोभिड-१९ सङ्क्रमणको नियन्त्रणका लागि दुवै मुलुकले मिलेर कार्य गर्न आवश्यक रहेको बताउँदै कठिन परिस्थितिका बाबजुद नेपाललाई सहयोग गर्न अमेरिका सदैव तत्पर रहेको कुरा बताउनुभयो । राजदूत बेरीले संयुक्त राज्य अमेरिकाले नेपाललाई विगत ७० वर्षदेखि आर्थिक सामाजिक हित हुने गरी विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र यस्तो सहयोगलाई आगामी दिनमा पनि निरन्तर दिने बताउनुभयो ।
रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारका अनुसार शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौँस्थित अमेरिकी राजदूतावासका अधिकारीको समेत उपस्थिति थियो ।- (रासस)
प्रतिक्रिया राख्नुहोस्