विश्वमा कोरोना कहर : साइप्रसमा फेरि लकडाउन, जापानमा संकटकाल

कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको छ । सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिख देखि लागु हुने पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको महामारी फेरि तिव्र रुपमा फैलिएर धेरै मानिस सङ्क्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले फेरि लकडाउन लगाउनु परेको उनीहरको भनाई छ ।खाद्य तथा पेय पदार्थ विक्रि वितरण गर्ने पसललगायत सवै व्यवसायीक स्थल तथा कार्यालयहरु बन्द गरिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

त्यसैगरी होटल, रेस्टुरेन्ट, वार, क्याफे, सैलुन, व्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । स्थानीय समयानुसार राती ९ बजेदेखि विहान ५ बजेसम्म कफ्र्यु समेत लागु हुने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउनको बेलामा थियटर र चलचित्र घरहरु समेत बन्द गरिने भएको छ ।

भिडभाड गर्न तथा भेला हुन प्रतिवन्ध लगाउन थालिएको छ भने कतै हिड्नु पर्नेमा अत्यावश्यक परेकाहरुलाई मात्रै अनुमति दिइने भएको छ । कामदारहरुलाई सकेसम्म निवासबाटै काम गर्न वा काम गर्ने ठाउँमै बस्न प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।

जापानमा संकटकालको घोषणापछि थप त्रास
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गर्नुभएको छ । प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उहाँले जापानको राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकालको घोषणा गर्नुभएको थियो ।

शुरुका महिनाहरुमा यहाँ यो महामारी फैलिएको थिएन । प्रभावकारी रुपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो ।

तर पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तिब्र बन्दै गएको बताइएको छ । यो महामारी थप नफैलियोस भन्ने उद्देश्यले यहाँ संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रधानमन्त्री सुगाले अहिले हिजो घोषणा गर्नुभएको सङकटकाल आगामी मे ११ सम्म लागु हुने बताइएको छ ।

यहाँ संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् ।

दोस्रो पटक पनि यहाँ संकटकालको घोषणा भएपछि यहाँका मानिसमा थप त्रास फैलिएको बताइएको छ ।

ब्राजिलमातीन हजार जनाको मृत्यु
ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को संक्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका २ हजार ९१४ जनाको एकै दिनमा ज्यान गएको हो ।

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८६ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।त्यसैगरी सोही अवधीमा थप ६९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४२ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९२ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ ।त्यसैगरी सो राज्यमा करिब २९ लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।

भारतमा एकैदिन साढे तीन लाख सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या साढे तीन लाख पुग्न लागेको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका हुन् ।

यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् ।

योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।

कुल सङ्क्रमित मध्ये २५ लाख ५२ हजार ९४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

त्यसैगरी अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहेपनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.