ढाडै सेक्ने गरी महँङ्गियो तरकारी

तरकारी गत बर्षको तुलनामा १ सय ४६ प्रतिशत महँगो

काठमाडौं- राजधानी काठमाडौंमा तरकारीको मूल्य आकासिएको छ । बजारमा तरकारीको मूल्य गत वर्षको यसै अवधिको तुलनामा १ सय ४६ प्रतिशतसम्म वृद्धि भएको छ ।

लकडाउनको समयमा निकै सस्तिएको तरकारीको मूल्य अधिक वर्षा, बाढी, पहिरो र डुवााको समस्या भएसँगै उत्पादन नै कम भएपछि महँगिएको हो । तरकारी उत्पादन गर्ने किसानले लागत मूल्य नै उठाउन नसकिरहेका बेला बिचौलियाले भने चर्को मूल्य असुलिरहेका छन् ।

यस वर्ष रातो आलुको मूल्य सबैभन्दा मँहगो भएको छ । गत वर्ष २६ रुपैयाँ प्रतिकिलोमा विक्री भएको आलुको थोक बजार मूल्य यस वर्ष प्रति किलो ६४ रुपैयाँ पुगेको छ । काउलीको मूल्य पनि गत वर्षको तुलनामा ५६ प्रतिशतले वृद्धि भएको छ भने मुला ४४ प्रतिशतले महँगिएको छ ।

गत वर्ष ७८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको काउली अहिले १२२ रुपैयाँ प्रतिकिलोमा थोक बजारमा विक्री भइरहेको छ । हरियो खुर्सानी र भेडे खुर्सानीको मूल्य पनि गत वर्षको तुलनामा क्रमश: ९७ र ८३ प्रतिशतले वृद्धि भएको छ । थोक बजारमै तरकारीको मूल्य यसरी वृद्धि भएपछि खुद्रा बजार हुँदै उपभोक्तासम्म आइपुग्दा त्यसको मूल्य अझै दोब्बर हुने नै भयो ।

कालीमाटी तरकारी बजारमा तरकारी किन्न पुगेका उपभोक्ताले नेपाल टेलिभिजनसँग गुनासो गर्दै भने- “तरकारी खानै नसकिने गरी महँगिएको छ ।यो सबै विचौलियाको चलखेलका कारण हो ।”

व्यापारीहरु भने किसानले उत्पादन नै कम गरेकाले मूल्य वृद्धि भएको बताउँछन । उनीहरुको तर्क छ- “लकडाउनमा किसानले तरकारीको मुल्य पाएनन त्यसैले अहिले लगाउनै छाडे । अनि महँगिने नै भयो ।” अत्यधिक वर्षा, बाढी, पहिरो, डुबान लगायतका समस्याले पनि तरकारीको मूल्य वृद्धि भएको केही ब्यापारीको भनाइ छ ।

तरकारी उत्पादन गर्ने किसानले आफ्नो लगानी पनि उठाउन नसकिरहेका बेला बिचौलियाले भने उपभोक्ता र व्यापारीको बीचमा बसेर चर्को मूल्य लिइरहेका छन् । बजारमा भइरहेको तरकारीको मूल्य वृद्धिको अनुगमन भने भएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.