गृहमन्त्रीको पक्षमा प्रधानमन्त्रीको अपिल

काठमाडौं– गृहमन्त्री रामबहादुर थापालाई वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि हुने निर्वाचनमा विजयी गराउन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपिल गर्नुभएको छ ।

मतदान बिहीबार हुँदैछ ।

२०७७ फागुन २३ गते नेकपा (एमाले) पुनःस्थापना भएपछि हुन गइरहेको यस निर्वाचनको विशेष महत्व रहेको प्रधानमन्त्रीका भनाइ छ । ‘यसले हाम्रो पार्टीको सामर्थ्य, एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ । सँगसँगै २०७५ साल जेठ ३ गते एकीकरण भएको, तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको बिरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ,’ अपिलमा भनिएको छ, ‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’

प्रधानमन्त्रीको अपिलको पूर्णपाठः

यही २०७८ साल जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि निर्वाचन हुँदैछ । यसैगरी जेठ १७ गते लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि पनि मतदान हुनेछ । उक्त निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वारको पक्षमा मतदान गर्न पार्टीका तर्फबाट महासचिवद्वारा यस निर्वाचनमा मतदाता रहेका जनप्रतिनिधिहरुलाई निर्देशन जारी भइसकेको कमरेडहरुलाई जानकारी नै छ ।

गत २०७७ फागुन २३ गते नेकपा (एमाले) पुनःस्थापना भएपछि हुन गइरहेको यस निर्वाचनको विशेष महत्व छ । यसले हाम्रो पार्टीको सामर्थ्य, एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ । सँगसँगै २०७५ साल जेठ ३ गते एकीकरण भएको, तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको बिरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ ।

जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।

हामी सबै जनप्रतिनिधिहरु पार्टीका तर्फबाट उम्मेदवार बनेका हौं । पार्टीका सयौं कार्यकर्ताहरु र हजारौं मतदाताहरुको अमूल्य मतबाट विजयी बनेर यस जिम्मेवारीमा आएका हौं । निर्वाचन अभियानका क्रममा र विजयपछि पार्टी घोषणापत्रमा उल्लेख गरिएका विषयहरु जसरी पनि पूरा गरी छाड्ने छौं भनेर हामीले जनतामाझ प्रतिवद्धता गरेका छौं । हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टी हित विपरित काम नगर्ने सपथ लिई आएका छौं । आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दूमा पुग्छौं ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन । प्रत्येक चुनौतीपूर्ण घडीमा हामीले आफूलाई उम्मेद्वार बनाउने पार्टीको निर्देशनलाई पालना गर्नु, आफूलाई जिताउन अहोरात्र खट्ने कार्यकर्ताको भावनालाई सम्मान गर्नु र जनतामाझ आफूले गरेका वाचाहरुप्रति हमेशा वफादार रहनु हामी सबैको कर्तव्य हो ।

अग्रजहरुले अत्यन्त कष्टका साथ जन्माएको, हुर्काएको र जनताको माया एवम् विश्वासका जगमा यस बिन्दुसम्म आइपुगेको पार्टीलाई विभिन्न समयमा विभिन्न कोणहरुबाट कमजोर पार्ने प्रयाशहरु पनि हुँदै आएका छन् । ती सबै प्रयाशलाई चिर्दै पार्टी यहाँसम्म आइपुगेको छ । अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन् ।

यस निर्वाचनमा हाम्रो एकताबद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्‍याउने छ । अतः यस निर्वाचनमा पार्टीका उम्मेद्वार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.