बामदेवको मध्यमार्गी प्रस्तावः ओली पाँचै वर्ष प्रधानमन्त्री, दाहाल महाधिवेशनसम्म कार्यकारी अध्यक्ष
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामेदव गौतमले पार्टी एकतालाई कायम राख्न भन्दै ६ बुँदे मध्यमार्गी प्रस्ताव राख्नुभएको छ ।
पटक पटक बोलाइएका स्थायी कमिटी बैठक स्थगित भइरहेकाबेला गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्षसमेत राखेको प्रस्ताव सार्वजनिक गर्नुभएको छ ।
गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव प्रस्ताव गर्नुभएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने उहाँको प्रस्ताव छ ।
उपाध्यक्ष गौतमले प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने पनि उल्लेख गर्नुभएको छ । ‘तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयको परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने,’ प्रस्तावमा उल्लेख छ ।
गौतमले पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने तथा संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिनुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्न प्रस्ताव राख्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्