उपचारका लागि हेलिकोप्टरको महँगो भाडा तिर्छन पहाडका कोरोना संक्रमित

खोटाङ- खोटाङका स्थानीयलाई कोरोना संक्रमित बिरामी काठमाण्डौं ल्याउन महँगो भाडामा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।

कोरोना महामारीमा एम्बुलेन्सको असहजताका साथै बिरामीलाई तत्कालै अस्पतालमा पुर्‍याउनुपर्ने बाध्यताले हेलिकोप्टर चार्टरको अवस्था आउने गरेको छ ।

सोमबार दिक्तेलबजारको कोरोना संक्रमित करिव ६५ बर्षीय पुरुषलाई तीन लाख ५० हजार रुपैँयामा हेलिकोप्टर चार्टर गरी काठमाण्डौं ल्याइएको छ ।

केही दिनदेखि जिल्ला अस्पतालमा उपचार गराइराखिएको संक्रमितलाई थप उपचार गर्न काठमाण्डौंको अस्पताल लैजान महँगो भाडामा हेलि चार्टर गर्नुपरेको हो ।

यसअघि, जेठ ५ गते ऐसेलुखर्क गाउँपालिकाका एक परिवारले उपचारका लागि ३ लाख २० हजार रुपैँयामा हेलिकोप्टर चार्टर गरेका थिए । एकै परिवारका तीन संक्रमितको लागि महंगो भाडामा हेलि चार्टर गर्नुपरेको हो ।

संक्रमितको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको थियो । सोही परिवारका ७८ बर्षीय बृद्दको कोरोनाकै कारण मृत्यु भएको थियो ।  यति महँगो भाडा तिरेर पनि हेलिकोप्टर चार्टर गर्न पाउन मुस्किल परेको  गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाको भनाइ छ ।

यस्तै, ‘प्रेसर लो’को समस्या देखा परी बिरामी भएका दिक्तेलबजार निवासी राप्रपाका जिल्ला अध्यक्ष ५६ बर्षीय जीवनकुमार श्रेष्ठलाई गत जेठ ३ गते हेलिकोप्टर चार्टर गरी काठमाण्डौं लगिएको थियो ।

खोटाङ जिल्लाभर हाल ८ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

कोरोना संक्रमितको उपचारका लागि काठमाडौं ल्याउने तयारीमा हेलिकोप्टर ।

जिल्लामा कोरोना संक्रमितमध्ये २९ जना निको भइसकेका छन् । हाल ४ सय २९ जना सक्रिय संक्रमित जिल्लामा रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.