महालक्ष्मी नगरपालिका कोभिड- १९ मा नै केन्द्रित

काठमाडौं– महालक्ष्मी नगरपालिका कोभिड- १९ मा केन्द्रित भएको छ ।

नगरपालिकाको दशौं नगरसभामा मंगलबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख रामेश्वर श्रेष्ठले आगामी वर्ष पनि कोभिड १९ को नियन्त्रण, रोकथाम तथा उपचारमा नै केन्द्रित भएको उल्लेख गर्नुभएको छ । संघ र प्रदेश सरकारसँगको सहयोगमा कोभिड- १९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षण व्यापक रुपमा गरिने उल्लेख छ । ‘नगर क्षेत्रभित्रका सबै नागरिकलाई कोभिड- १९ विरुद्धको खोपको सुनिश्चितता गर्न आवश्यक समन्वय र सहकार्य गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

लुभू प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय कार्यान्वयन गर्न आवश्यक जग्गा लगायतका पूर्वाधारको विकास गर्ने तथा लामाटारमा सुविधा सम्पन्न ५० बेडको सरुवा रोग अस्पताल स्थापनाका लागि थप पहल गर्ने उल्लेख छ ।

नगरपालिकाले पोषण, व्यायाम, योग, ध्यान तथा आयुर्वेदमा आधारित पञ्चकर्म लगायतका प्राकृतिक चिकित्सा पद्धतिलाई अवलम्बन गरी स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उल्लेख छ ।

नगरपालिकाले स्वास्थ्यसँगै शिक्षा र रोजगारमा आफूलाई केन्द्रित गरेको जनाएको छ । नगरपालिकाले ‘उद्यमीको साथमा नगर प्रमुख’ भन्ने अभियानका साथ नगरपालिकाले सुरु गरेको नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रमलाई उपलब्धि समीक्षाका आधारमा विस्तार गरी निरन्तरता दिइने जनाएको छ ।

श्रम बैङ्कलाई अद्यावधिक गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रम मंगलबार नै सर्वसम्मत पारित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.