वीपी राजमार्ग अवरुद्ध, फस्कोटका ३ घर जोखिममा
काभ्रे- रोशी गाउँपालिका वडा नं १२ मा बगेको लेदोको कारण वीपी राजमार्ग अवरुद्ध भएको छ ।
खोलामा आएको बाढी र बगेको लेदोको कारण राजमार्ग हुँदै पूर्वका जिल्लातर्फ लागेका र काठमाडौँ आउँदै गरेका सवारीसधान राजमार्गमा नै अड्किएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभएको छ ।
लेदोमा ३ सवारी साधन फसे पनि यात्रुहरुलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।
रोशी गाउँपालिका अध्यक्ष दलबहादुर (डिबी) लामाले अवरोध हटाउन शुरु गरिएपनि निरन्तरको बर्षा र खोलाको सतह बढेको कारण केही कठिनाइ भइरहेको बताउनुभयो ।
नमोबुद्ध–५, लास्कोटमा रहेको क्रसर उद्योगबाट आएको लेदोले पनि राजमार्गमा अवरोध गरेपनि खुलाइएको छ ।
यता, धुलिखेल–११, फस्कोटमा घर पछाडीको पर्खाल खसेर ३ घर जोखिममा परेपछि धुलिखेलस्थित कालिजंग गणका सेना र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्