जनस्वास्थ्यका मापदण्डको पालनामा कमी, फेरि जोखिम बढ्न सक्ने विज्ञहरुको चेतावनी

काठमाडौं– निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्दा जनस्वास्थ्यका मापदण्डको पालनामा कमी आएको छ ।
बजारमा समेत मानिसहरु निर्धक्क भएर हिँड्न थालेका छन् । सरकारले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न, दुई मिटरको भौतिक दुरी कायम गर्न र सेनिटाइजर प्रयोग गर्न सुझाव दिँदै आएको छ । तर सरकारले दिएका सुझावको पूर्णरुपमा पालना हुन सकेको छैन । यसले संक्रमण दर पुनः बढाउन सक्ने सम्भावना देखिएको विज्ञहरु बताउँछन् ।
सबै नागरिकलाई खोप नलगाएसम्म सरकारले जनस्वास्थ्यका मापदण्डको पालनालाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ । मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र पटकपटक साबुनपानीले हात धुने गरे कोरोना संक्रमण फैलिन पाउँदैन । तर अहिले जनस्वास्थ्यका मापदण्डको पालनामा केही हेलचेक्र्याइँ हुने गरेको पाइन्छ । योसँगै विभिन्न ठाउँमा जमघटसमेत हुन थालेका छन् । यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने विज्ञहरुको सुझाव छ । यसैबिच हिजो देशभर २३ सय २८ जना कोरोना संक्रमित भएका छन् ।
देशभर १९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार १९८ जना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा देशभर ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन् । देशभर हाल ८०८ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ६२७ आइसीयू र १८१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्