नेपाल टेलिभिजनको बोर्ड सदस्यमा मुखिया नियुक्त
विज्ञापन बोर्ड सदस्यमा चेतन अधिकारी

काठमाडौं– नेपाल टेलिभिजनको बोर्ड सदस्यमा सवनम मुखिया नियुक्त हुनुभएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट मुखियालाई चार वर्षका लागि बोर्ड सदस्य नियुक्त गरिएको हो । मुखियालाई सोमबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले नियुक्तिपत्र प्रदान गर्नुभयो ।
ललितपुर महानगरपालिका– ८ निवासी ५४ वर्षीया मुखिया नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वेच्छिक अवकास लिनुभएको हो ।
ओस्कार कलेज अफ फिल्म स्टडीजबाट सिनेमाटोग्राफीमा स्नातक अध्ययन गर्नुभएकी मुखियाले दर्जनौं छोटो तथा फिचर फिल्म निर्माण तथा निर्देशन गर्नुभएको छ ।
टीयर्स अफ फियर फिल्मका लागि उहाँले किम्फ जुरी अवार्ड जित्नुभएको थियो ।
सोमबार नै विज्ञापन बोर्डको सदस्यमा चार वर्षका लागि नेपाली बहस डट कमका प्रधान सम्पादक चेतन अधिकारी नियुक्त हुनुभयो ।
चन्द्र न्यौपानेको निधन भएपछि रिक्त रहेको बोर्ड सदस्यमा अधिकारीको नियुक्ति भएको हो ।
अधिकारीले गोरखापत्र दैनिक, कान्तिपुर दैनिकलगायतका मूलधारका सञ्चार संस्थामा दुई दशकभन्दा लामो समय काम गर्नुभएको छ । हाल नेपाली बहस डट कमको सम्पादकीय नेतृत्व गर्नुभएका अधिकारी यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य रहनुभएको थियो ।
बोर्ड सदस्यमा नियुक्त हुनुभएका मुखिया र अधिकारीलाई मन्त्री नेम्वाङले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्