प्रकाश र सुनिता : विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ । आज सिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र दिएर उहाँलाई एक वर्षका लागि ‘विपद् जोखिम सद्भावना दूत’मा नियुक्त गरेको जानकारी दिनुभयो ।

गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उहाँहरूलाई दूत नियुक्ति गरिएको पोखरेलले बताउनुभयो । सपुत बाग्लुङ र दुलाल सिन्धुपाल्चोक निवासी हुन् । सोही समारोहमा उहाँहरूको ‘बाढी पहिरो, हाम्लाई चिन्ता गहिरो, बोलको’ सन्देशमूलक गीतसमेत सार्वजनिक गरिएको थियो ।

उक्त समारोहमा गायक सपुतले प्राधिकरणले रचनात्मक काम गरेर पवित्र उद्देश्यमा जोडिदिएकामा खुशी व्यक्त गर्दै, गीत, सङ्गीत, अनुहार र सामाजिक सञ्जालका माध्यामबाट नागरिकलाई सचेत गराउन आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सरकारको दूत भएर काम गरेको यो पहिलो अनुभव भएकोसमेत सुनाउनुभयो ।

गायिका दुलालले महत्वपूर्ण अवसर प्राधिकरणले दिएकामा खुशी व्यक्त गर्नुभयो । गत वर्ष सिन्धुपाल्चोक र बागलुङमा भएको ठूलो मनसुनजन्य विपद्मा परेर ठूलो जनधनको क्षति भएको थियो । समारोहमा पोखरेलले कसैको अकालमा मृत्यु नहोस्, कसैको धनमालमा क्षति नपुगोस् भन्ने हाम्रो उद्देश्य गीतले समेटेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म मुलुकमा विपद्को जोखिमले जितिरहेको छ अब त्यसलाई हामीले जित्न सकौँ ।” उक्त समारोहमा प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले हालसम्म भएको विपद्जन्य घटनाको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.