चितवन- कृष्ण आचार्य चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् ।
दुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ । गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन् ।
लम्पी स्किन डिजिज (बिमिरा आई छाला उप्कने) जस्तै देखिने रोग देखापरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख डा दयाराम चापागाईंले जानकारी दिनुभयो । शुरुआतमा राप्ती नगरपालिकामा देखिएको सो रोग क्रमशः अन्य क्षेत्रमा पनि फैलँदै गएको उहाँले बताउनुभयो ।
अहिले खैरहनी र रत्ननगर नगरपालिकाका किसानले पालेका गाईमा पनि यो रोग देखिएको छ । यो भाइरसबाट लाग्ने रोग हो । रोग लागेपछि गाईले दूध दिन छाड्ने वा कम दिने गरेको चापागाईंले बताउनुभयो ।
रोगको लक्षण
राप्ती नगरपालिका–८ बडराकी किसान हरिमाया अर्यालले पालेको गाईमा शुरुमा समस्या देखिएको थियो । “गाईको शरीरभरि घाउ आएको छ”, उहाँले भन्नुभयो, “राम्रो जातको गाई थियो, अहिले हड्डी र छालामात्र देखिन्छ ।”
कातिकमा ब्याएको गाईले दैनिक १४-१५ लिटर दूध घटाएर तीनदेखि चार लिटरमात्र दिन थालेको उहाँले बताउनुभयो । गाईलाई उठ्न र बस्नसमेत समस्या भएको छ ।
प्राविधिकले हेरेर शुरुमा केही औषधि खुवाए पनि रोगको निदान नभएको उहाँले बताउनुभयो । शुरुमा आफ्नो गाईमा समस्या देखिए पनि अहिले अन्य किसानको गाईमा पनि यस्तै रोग देखिएको अर्यालले बताउनुभयो ।
यो रोग लाग्ने गाईमा शुरुमा ज्वरो आउने, खाना नखाने, शरीरमा फोका बिमिरा उठ्ने, रगत आउने, मासुको टुक्रासमेत देखापर्ने लगायतका लक्षण देखिने गरेको छ । प्राविधिकले लक्षणका आधारमा उपचार भइरहेको जनाएका छन् ।
पोटासले शरीर धुने, घाउ भएको ठाउँमा बेटालिन दल्ने, मलम लगाउने, गोठ वरपर कीटनाशक औषधि छर्ने र बिरामी गाईलाई अलग्गै राख्न किसानलाई सुझाव दिएको राप्ती नगरपालिकाका पशु शाखाप्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
नगरका अधिकांश किसानका गाईको नमूना सङ्कलन गरिएको छ । यो रोग धेरै क्षेत्रमा बढ्नसक्ने भन्दै सचेत रहन किसानलाई आग्रह गरिएको उहाँले बताउनुभयो । चितवन दुग्ध उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ ।-
प्रतिक्रिया राख्नुहोस्