सुदूरपश्चिममा आज ‘ओल्के’ पर्व मनाइँदै

काठमाडौँ- सुदूरपश्चिममेलीहरुले आज ‘ओल्के’ पर्व मनाएका छन् । विपद हुनसक्ने समयमा ज्यान जोगिएको खुशियालीमा यो पर्व मनाइने प्रचलन रहेको छ ।

हरेकवर्ष भदौ १ गते मनाइने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरिकलाई सम्मान स्वरुप ‘ओल्को’ अर्थात उपहार(हरियो सागपात) दिएर, घरपरिवारसँग बसी मिठो–मसिनो खाएर र आ–आफ्नै मौलिक शैलीमा मनोरञ्जन गरेर ओल्के मनाइन्छ ।

परापूर्व कालदेखि नै यस क्षेत्रमा ‘मरुला भनेर ‘विशु’ खानु, बाँचे भनेर ओल्के खानु’ भन्ने किम्वदन्ती छ । विशु वैशाख १ गते मनाइने सुदूरपश्चिमको अर्को मौलिक पर्व हो ।

बर्षायामका बैशाखदेखि साउनसम्मको समयमा रोगव्याधि तथा महामारी फैलने तथा यही समयमा विभिन्न प्राकृतिक बिपत्ती आउनसक्ने समय मानिन्छ । यस्तो संकटग्रस्त समयमा मरिन्छ की भनेर वैशाख सक्रान्तिमा विशु मनाउने र बाँचेको खुशीयालीमा भदौ सक्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको छ।

ओल्केमा मान्यजनलाई दिइने ओल्कोमा हरियो साग कर्कलाको गाभा र फलफुल दिइने गरिन्छ । यसबाहेक अन्न, दुध, दही, घ्यू,गूड र पक्वान्न आदी पनि दिइन्छ । नयाँ पुस्ताले अचेल आफ्ना मान्यजनहरुलाई लुगाकपडा, पैसा वा यस्तै अन्य उपहार समेत ओल्को स्वरुप दिन थालेका छन् ।

यसरी ओल्को दिन आएकाहरुलाई मान्यजनहरुले आफुसंग भएको मिठोमसिनो खुवाएर पठाउछन् । ओल्केकै अवसरमा सुदूरपश्चिममा पिङ खेल्ने प्रचलन छ ।

यस पर्बमा विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण मिठो परिकारहरु जस्तै लौन, बावर, माणा, डुब्का लगायतका डोटेली पकाएर खुवाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.