एमाले अवरोधले लुम्बिनी प्रदेश सभा रोकियो
बुटवल– प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै विरोध जनाएपछि लुम्बिनी प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध भएको छ ।
बैठक सुरु हुनासाथ एमाले सांसद हरि रिजालले पार्टीले कारबाही गरेका सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने बताउनु भएको थियो । त्यसपछि एमाले सांसदहरु उठेर रोष्टम नजिक पुगेर नाराबाजी गरेका थिए ।
सभामुख पूर्णबहादुर घर्तीले एमालेले दिएको पत्रमा प्रशासनिक प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।
एमालेको अवरोधपछि स्थगित प्रदेशसभा वैठक सञ्चालन गर्ने विषयमा सत्ता पक्ष र विपक्षी दलबीच छलफल भएपनि सहमति जुटेन ।
२०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित विमला वलीले आफूले माओवादी केन्द्र रोजेको बताउँदै आउनुभएको छ । यस्तै सांसद शाहीले आफू सूर्य चिन्हबाट स्वतन्त्र रूपमा चुनाव जितेको बताउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्