मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेले

काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुवै टोलीले एक-एक गोलको बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भारतबीच एक-एक गोलको बराबरीमा खेल सकिएको हो । नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो ।

नेपाल पहिलो हाफमा १-० गोलले अगाडि रहेको थियो । नेपालका लागि खेलको ३६औं मिनेटमा अञ्जन विष्टले गोल गरेका हुन् । पहिलो हाफमा भारतीय टोलीले पनि गोलको प्रयास गरे पनि सफल भने हुनसकेन ।

नेपालले दोस्रो हाफमा पनि गोलको प्रयास गरेको थियो । भारतीय गोलकिपर गुरप्रितसिंह सान्धुले नेपाली टोलीको प्रयास विफल पारे । मध्यान्तरपछिको खेलमा भारतले नेपालविरुद्ध गोल गर्न सफल भयो ।

खेलको ६०औँ मिनेटमा भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए । गोलकिपर किरणकुमार चेम्जोङले उनको प्रहार रोक्न सकेनन् । खेलसँगै नेपाली गोलकिपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका विराज महर्जनसित बराबरी गरेका छन् ।

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल पर्सी आइतबार दशरथ रङ्गशालामा हुनेछ ।

नेपाल र भारबीच हिजोसहित फुटबलमा २० पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सकेको छ । पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घको (फिफा) वरियतानुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.