अत्यधिक भीडका कारण चालक अनुमति-पत्र बितरण कार्य तत्कालका लागि स्थगित
काठमाडौं- काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन । कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो ।
कार्यालयमा अत्यधिक भीडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गाह्रो भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताउनुभयो ।
उहाँका अनुसार काठमाडौँ उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँसँगै जगाती, सुकेधारा र ठूलोभ¥याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरेका छन् । कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो । त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।
अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उहाँको भनाइ छ ।
नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ । कुपन लिएका दैनिक २५० सेवाग्राहीको नवीकरण भइरहेको छ ।-
प्रतिक्रिया राख्नुहोस्