महाधिवेशनमा प्रमुख दलका नेताहरुको शुभकामना

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपालका प्रमुख दलका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ । नेताहरुले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै अब चयन हुने नेतृत्वलाई समेत अग्रीम बधाई दिनुभएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राणा शासन अन्त्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन कांग्रेसले खेलेको भूमिका स्मरण गर्नुभयो । उहाँले देशको राजनीति, अर्थतन्त्र, सामाजिक विकासलाई रक्षा सम्वर्द्धन गर्ने अभिभारा कांग्रेस र एमालेको हात रहेको बताउँदै आफूहरु सँगै हिड्न तयार रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा कांग्रेसको भूमिका प्रमुख रहेको बताउँदै बाँकी कामहरु पूरा गर्न पनि मिलेर अघि बढ्ने बताउनुभयो । उहाँले गणतन्त्रपछि मुलुकमा धेरै परिवर्तन आएकाले पछाडि फर्कन नसकिने धारणा राख्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा कालो बादल मडारिरहेको बताउनुभयो । ‘राजनीतिमा संकेत राम्रो देखिएको छैन, नेपालको राजनीतिमा कालो बादल मडारिरहेको छ,’ उहाँको भनाइ छ, ‘प्रगतिमागी तत्वहरुलाई फेरि शीर उठाउने दुस्साहस नगर्नुस् ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न समयमा भएका राजनीतिक उपलब्धी रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार स्थिर राख्न राजनीतिक दल पनि स्थिर रहनुपर्ने धारणा राख्नुभयो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनलाई नेतृत्व चयन सँगै नेतृत्वको छवि सुधार्ने अवसरकाका रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन कुनै न कुनै रुपमा देखिएको भन्दै लोकतान्त्रिक शक्तिहरुबीच एकताको खाँचो औंल्याउनुभयो ।

नेकपा मालेका महासचिव सीपी मैनालीले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तर परिवर्तन नभएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.