गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्छ- डा भट्टराई

काठमाडौँ- भूतपूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहनुभएका भट्टराईले देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले गठबन्धनको निरन्तरतामा जोड दिनुभएको हो । उहाँले एमसिसीलगायतका मुद्दामा गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सानासाना समस्याका कारणले पनि गठबन्धन भत्काउने खतरा छ ।”

अहिलेसम्मको हासिल भएको उपलब्धिको रक्षा गर्नुपर्नेमा पूर्वप्रधानमन्त्री भट्टराईको जोड छ । उन्नत समाज निर्माणका लागि सुशासन, लोकतन्त्र, समृद्धि हासिल गर्नुपर्ने उहाँले बताउनुभयो । कोही पनि निजी स्वार्थमा लम्पसार भएमा अमेरिकादेखि छिमेकी दक्षिणपन्थी शक्तिसमेत हाबी हुने खतरा रहेको उहाँले औँल्याउनुभयो ।

गत वर्ष पुस ५ गते भएको संसद् विघटन प्रतिगामी कद्म भएकाले त्यसको विरोध गरेको र अझै पनि प्रतिगमन पूर्णरुपमा अन्त्य नभएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप थिभयो । विगतमा पनि पटक–पटक लोकतन्त्रमाथि प्रहार भएको र त्यसविरुद्ध नेपाली जनता लड्दै आएको उहाँको भनाइ छ । गत वर्ष पुस ५ गते भएको संसद् विघटनविरुद्ध दल, नागरिक समाज र पत्रकारलगायतले आवाज उठाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि सबै मिलेर खबरदारी गर्न लाग्नुपर्छ ।”

केही शक्ति अहिले नै उपलब्धि हासिल भइसकेको भनेर त्यसलाई जोगाउनमा जोड दिइरहेको पूर्वप्रधानमन्त्री भट्टराईले बताउनुभयो । समाज यथास्थितिमा नबस्ने हुँदा उपलब्धि रक्षा गर्दै थप उपलब्धि हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.