सभामुखको साथमा छौँ : अध्यक्ष नेपाल

पोखरा- नेपाल कम्युनिष्ट पार्टी( एकीकृत (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उहाँले कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“ सभामुखज्यू तपाई एक्लो हुनुहुन्न, तपाईको साथमा हामी पनि छौँ । दृढताका साथ अगाडि बढनुहोस् ।”

तत्कालीन एमाले पार्टीबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन कानूनको आधारमा साहसिक कदम चालिएको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्दै मार्क्सवाद र लेनिनवादप्रति पूर्ण प्रतिबद्ध रहेर कम्युनिष्ट मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी बेतिथि, गरिबीलाई समाप्त गरेर सुन्दर समाजको निर्माणमा आफ्नो पार्टी लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भिन्न चरित्रको पार्टी बनाउने, क्रान्तिकारी चरित्र, सुसंस्कार बोकेको, आदर्शप्रति प्रतिबद्ध, निष्ठाको राजनीति गर्ने जनताको सेवाको भावनाबाट उत्प्रेरित पार्टी बनाउनका लागिनै आफैले यसअघि बनाएको पार्टीबाट विद्रोह गर्नुपरेको हो ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले गण्डकी प्रदेशमा आगामी दिनमा एकीकृत समाजवादीलाई पहिलो पार्टीका रुपमा स्थापित गरिने बताउनुभयो । अहिलेका मन्त्रिपरिषद्का सदस्यले जनमुखी काम गरेको उहाँले उल्लेख गर्नुभयो । प्रदेशस्तरीय प्रशिक्षणमा पार्टीका अन्य नेताले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.