कांग्रेस बैठकः महाधिवेशन सफल बनाउने सबैलाई धन्यवाद

काठमाडौं नेपाली कांग्रेसले १४औं महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । केन्द्रीय समितिको शनिबार साँझ बसेको पहिलो बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिएको छ ।

बैठकपछि जारी विज्ञप्ती

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भयो । महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्ताव प्रस्तुत गर्नु भयो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।
१) नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको यो प्रथम बैठक जननायक वीपी कोइरालाको विचार, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला लगायत अग्रज नेतृत्वको अनवरत संघर्ष र सफल नेतृत्वप्रति उच्च सम्मान व्यक्त गर्दछ । संघर्ष र सफलताको अनेक चरणमा सहादत प्राप्त गरेका योद्धाहरुप्रति यो बैठक असीम श्रद्धा व्यक्त गर्दछ ।
१४ औं महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रुपान्तरणको गहिरो भावना आत्मसात गर्दै इतिहासले सुम्पिएको जिम्मेवारीलाई एकताबद्ध ढंगले सम्पादन गर्ने संकल्प र दृढता यो प्रथम बैठक व्यक्त गर्दछ ।
२) नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान केन्द्रीय कार्यसमितिलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ । महाधिवेशन तयारी मूल समिति, अर्थ संकलन समिति, भोजन तथा आवास व्यवस्थापन समिति, स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति, उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समिति, स्वास्थ्य समिति, सांस्कृतिक समिति र स्वयंसेवक व्यवस्थापन समितिलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।
महाधिवेशन सफलताका लागि शुभकामना र शुभेच्छा प्रकट गर्नु स्वदेश र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ, उद्घाटन समारोहमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरु र विशिष्ट विदेशी पाहुनाहरु सबैमा यो बैठक आभार र धन्यवाद प्रकट गर्दछ । शुभकामना सन्देश पठाउनु हुने विभिन्न मुलुकका विभिन्न राजनीतिक दलका प्रमुखहरुप्रति पनि यो बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ ।
देशभरीको क्रियाशील सदस्यताको छानवीन गरी नवीकरण गर्ने र नयाँ सदस्यता प्रदान गर्ने कार्यको टुंगो लगाउन गठित केन्द्रीय क्रियाशील सदस्यता छानवीन समितिलाई धन्यवाद ज्ञापन गर्दछ । वडा तहदेखि केन्द्रसम्म पार्टीको संगठनात्मक संरचनाको निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण जिम्मेवारी सम्पादन गरेकोमा केन्द्रीय निर्वाचन समिति र देशभर खटिनु भएका केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि साथीहरुप्रति यो बैठक धन्यवाद प्रकट गर्दछ ।
पार्टीको स्थानीय वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्म निरन्तर सहयोग पुर्‍याई यो अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सबै सुरक्षा निकाय, स्थानीय तहदेखि केन्द्रीय महाधिवेशनलाई अत्यन्त महत्वका साथ निरन्तर प्रसारण र प्रकाशन गरी आम श्रोता तथा पाठकहरुलाई सुसूचित बनाउन अहोरात्र खट्नु हुने स्वदेशी तथा विदेशी सवै संचार माध्यमप्रति यो बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ ।
पार्टीको स्थानीय वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्म अनवरत रुपमा अहोरात्र सक्रिय रही पार्टीलाई नयाँ जीवन र गतिशिलता दिनमा अतुलनीय योगदान पुर्‍याउनु हुने स्वदेश भित्र र विदेशमा समेत रहनु भएका नेपाली कांग्रेसको आधारस्तम्भ सम्पूर्ण क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधिहरु, प्रदेश अधिवेशन प्रतिनिधिहरु, महाधिवेशन प्रतिनिधिहरु एवं विभिन्न तहको नेतृत्व, पदाधिकारी र सदस्य साथीहरुप्रति पनि यो बैठक सम्मान, बधाई र धन्यवाद प्रकट गर्दछ ।
३. २०७८ माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।
४. २०७८ माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.