बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गर्नुभयो ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहनुभएका महासचिव लेकफेललाई प्रधानमन्त्रीले विम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने तथा बिम्स्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताउनुभयो । बिम्स्टेकलाई थप प्रगति गर्न सघाउन नेपालले रचनात्मक योगदान गर्ने दृढता पनि उहाँले व्यक्त गर्नुभयो । बिम्स्टेकले हालसम्मका प्रगतिलाई सुदृढ तुल्याउन तथा क्षेत्रीय सहयोगको आकाङ्क्षालाई साकार पार्न महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।

बिम्स्टेक प्रक्रियालाई अगाडि बढाउन नेपालले पुर्‍याएको योगदानको प्रशंसा गर्दै महासचिवले काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको बताउनुभयो । बिम्स्टेकप्रतिको नेपालको प्रतिबद्धताको उहाँले सराहना पनि गर्नुभयो । कोभिड–१९ महामारीका कारण दुई वर्षअघि हुनुपने बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी चैतमा श्रीलङ्काले आयोजनाको प्रस्ताव गरेको छ । यद्यपि सदस्य देशबाट त्यो अनुमोदन हुन बाँकी छ ।

प्रारम्भमा बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्डमात्र सदस्य रहेको चारदेशीय उक्त संस्थामा भुटान, म्यान्मा र नेपाल थपिएपछि बिम्स्टेक बनेको हो । २०५४ साल जेठ २४ गते स्थापना भएको उक्त क्षेत्रीय सङ्गठनको सदस्यता नेपालले २०६० साल माघमा लिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.