नेपाल टेलिभिजन कर्मचारी संघको नयाँ कार्यसमितिका लागि मतदान जारी
काठमाडौँ- नेपाल टेलिभिजन कर्मचारी संघको नयाँ कार्य समिति चयनका लागि आज निर्वाचन भइरहेको छ । संघको प्रत्येक २ बर्षमा नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुने गरेको छ । संघको यो निर्वाचनमा अध्यक्ष पदका लागि २ जना उमेद्वार प्रतिश्पर्धामा हुनुहुन्छ ।
वर्तमान कार्यसमितिका अध्यक्ष गोपालप्रसाद दाहाल र महासचिव सुरेन्द्र आचार्य अध्यक्ष पदमा प्रतिश्पर्धा गरिरहनुभएको छ ।
यसैगरी बरिष्ठ उपाध्यक्षमा आलोककुमार तिवारी र भोजराज बडूबीच प्रतिश्पर्धा भएको छ ।
समावेशी उपाध्यक्षका लागि ३ जना चुनावी मैदानमा हुनुहुन्छ । अनिता रिमाल, राजमान तामाङ र सरस्वती शर्माबीच समावेशी उपाध्यक्षका लागि प्रतिश्पर्धा गरिरहनुभएको छ ।
यसैगरी महासचिवमा कपिल भट्टराई र शिव पंगेनीबीच प्रतिश्पर्धा भइरहेको छ।
सचिवमा नरेश खड्का, प्रद्यम्न मिश्र, विकासकुमार भट्टराई, हेमबहादुर कार्की चुनावी मैदानमा छन । यसैगरी कोषाध्यक्षमा जमुना भट्टराई र स्वेता थापा प्रतिश्पर्धामा छन ।
महिला २ जना सदस्यका लागि कल्पना शर्मा, सरिता तिमिल्सिना र सविता बस्नेतबीच प्रतिश्पर्धा भइरहेको छ ।
खुला सदस्य ५ जनाको लागि मदनकृष्ण श्रेष्ठ, राजु क्षेत्री, रामकुमार थापा, रोविन शर्मा दाहाल, विद्याकान्त पण्डित, सरोज महर्जन र श्रीराम विष्टबीच चुनावी प्रतिश्पर्धा भइरहेको छ ।
संघको जम्मा २१७ मतदाता मध्ये कोहलपुर प्रशारण केन्द्रमा १६ र इटहरी प्रशारण केन्द्रमा १८ जना मतदाता छन । विभिन्न प्रसारण केन्द्रहरुबाट काठमाडौँ, कोहलपुर र इटहरी जहाँ पाएक पर्छ त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
इटहरी र कोहलपुरका लागि काठमाडौंबाटै मतपत्र पठाएर सम्बन्धित प्रशारण केन्द्रहरुमा मतदान भएको छ भने बाँकी सदस्यहरुले केन्द्रीय कार्यालय सिंहदरवारमा मतदान भइरहेको प्रमुख निर्वाचन अधिकृत पुष्पहरि क्याम्पा राईले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो । प्रमुख निर्वाचन अधिकृत क्याम्पा राईका अनुसार कोहलपुर र इटहरीबाट मतपेटिका काठमाडौँ आइपुगेपछि आजै बेलुकी मत गणना हुनेछ ।।
प्रतिक्रिया राख्नुहोस्