मध्यपहाडीमा सवारी सञ्चालन गर्न प्रहरीको अनुमति चाहिने

रुकुमपूर्व- रुकुमपूर्वमा मौसममा सुधार नआएसम्मका लागि भनेर मध्यपहाडी लोकमार्ग सञ्चालनमा रोक लगाइएको छ ।

रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातका कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । राजमार्गको अवरोध हटाउन सञ्चालन समितिको बैठक बसेर यस्तो निर्णय गरिएको समितिको संयोजकसमेत रहनुभएका प्रजिअ बाँस्कोटाले बताउनुभयो ।

जिल्लास्थित सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायीको उपस्थितिमा गरिएको छलफल र यातायात व्यवसायीबाट आएको सुझावका आधारमा मध्यपहाडी लोकमार्गको पातीहाल्ना खण्डमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

मध्यपहाडी लोकमार्गमा जमेको साढे दुई फिट हिउँ पाँच दिन लगाएर डोजरले पन्छाएको तर त्यसमा सवारी सञ्चालन गर्न धेरै नै जोखिम रहेकाले लोकमार्ग बन्द गर्ने निर्णय गरिएको प्रजिअ बाँस्कोटाले बताउनुभयो । उहाँका अनुसार यस खण्डमा सार्वजनिक सवारीलाई पूर्णरूपमा रोक लगाइएको छ । निजी फोरबिल वाला गाडी भने जान सक्नेछन् ।

अत्यावश्यक परेको खण्डमा मात्र सार्वजनिक गाडी प्रहरीको अनुमतिमा यस खण्डमा चलाउन सकिने छ । गाडीको अवस्था कस्तो छ र लोड कत्तिको छ भनेर हेरेपछि प्रहरीले उपयुक्त ठानेर पठाएको खण्डमा मात्र सार्वजनिक गाडी पातीहाल्नाको बाटो भएर जाने छन् ।

एक–दुई दिनलाई भने पूर्णरूपले लोकमार्ग ठप्प रहेको प्रजिअ बाँस्कोटाले बताउनुभएको छ । रुकुमपूर्वबाट बागलुङतर्फ जाने बाटो हिउँले चिप्लो बनाएको र उकालो पर्ने भएकाले दुर्घटना हुनसक्ने जोखिम धेरै रहेको उहाँको भनाइ छ ।

बागलुङतर्फबाट भने एकतर्फीरूपमा रुकुमपूर्वतर्फ केही सवारी जोखिम मोलेर आइरहेका छन् । बागलुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सकभर उतापट्टिबाट पनि यस खण्डमा सवारी सञ्चालनमा रोक लगाउने प्रयास गरिरहेको प्रशासनले जनाएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यस खण्ड हुँदै रुकुमपूर्वसँगै काठमाडौँ, पोखरा, रोल्पा, ओहोरदोहोर गर्ने मानिस समस्यामा परेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.