नेपाल टेलिभिजनलाई राष्ट्रपतिको शुभकामनाः आम नागरिकको अपेक्षा पूरा गर्ने विश्वास

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न नेपाल टेलिभिजन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल टेलिभिजनले ३७ औं वार्षिकोत्सवका अवसरमा सोमबार शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले नेपाल टेलिभिजनका आम दर्शक र समस्त टेलिभिजन परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालमा टेलिभिजन प्रसारण तथा प्रसारण पत्रकारिताको क्षेत्रमा नेपाल टेलिभिजनको स्थान विशिष्ट रहेको बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘जिम्मेवार राष्ट्रिय प्रसारण संस्थाको हैसियतमा यस टेलिभिजनले राष्ट्र, राष्ट्रियता र नागरिकको हितका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।’

आम नागरिकको अपेक्षा पूरा गर्न टेलिभिजनले आफूलाई समयानुकूल अद्यावधिक गर्न आवश्यक रहेकोसमेत राष्ट्रपतिले बताउनुभयो । उहाँले नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धनका साथै विपन्न एवं अल्पसंख्यक समुदायलगायत सबै वर्ग र क्षेत्रका आवाजलाई नेपाल टेलिभिजनले आफ्ना विभिन्न च्यानलमार्फत स्थान दिनु खुसीको विषय भएको उल्लेख गर्नुभयो ।

देशमा घटेका सबैजसतो महत्त्वपूर्ण घटना एवं परिवर्तनहरुको साक्षी बनेकाले यसले परिवर्तनका एजेन्डालाई संस्थागत गर्न, प्राप्त उपलब्धिको रक्षा गर्न र नेपाली समाजलाई सूचना र सञ्चारको माध्यमबाट एकताको मूल प्रवाहमा ल्याउन पुर्‍याएको योगदानको राष्ट्रपतिले प्रशंसा गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सार्वजनिक लगानीको प्रसारण संस्था भएकालले नेपाल टेलिभिजनसँग समाज र राष्ट्रप्रतिको दायित्व अझ गहन भएकोसमेत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.