नागढुंङ्गा–नौबिसे सुरुङमार्ग : मुआब्जा विवादका कारण काममा ढिलाइ हुने

धादिङ- स्थानीय जनता र स्थानीय पालिकाको सहयोगले विकास निर्माणको कामलाई छिटो सक्न सहयोग पुग्ने उदाहरण बनेको छ- काठमाडौँ प्रवेश गर्ने नौबिसे-नागढुङा सुरुङ मार्ग ।

तर नागढुंङ्गा–नौबिसे सुरुङमार्ग निर्माणको काममा केही महिना ढिलाइ हुने भएको छ ।

कोभिड १९ को संक्रमण र जग्गा मुआब्जा सम्बन्धी विवाद र स्थानीयवासीको अवरोधका कारण ४२ महिनामा सकिने भनिएको काममा करिब ३ महिनाको समय थप लाग्ने भएको हो ।

यो सुरुङ मार्ग निर्माणमा देखिएका समस्या र हालसम्म भैरहेको कामका बारेमा चन्द्रागिरी नगरपालिकाका प्रमख तथा स्थानीय जनप्रतिनिधिले अवलोकन गर्दै स्थानीय तवरमा देखिएका समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

धादिङको नौबिसेबाट काठमाडौको थानकोटसम्मको सडकखण्ड घुमाउरो तथा उकालो भएका कारण यस क्षेत्रमा सधैँजसो हुने ट्राफिक जामलाई हटाउने उद्देश्यका साथ सुरुङ मार्ग बनाउन लागिएको हो । सुरुङ बनेपछी साढे तीन किलोमिटरले दूरी घट्नुकासाथै करिब २० मिनेटमै नौबिसेबाट काठमाडौ प्रवेश गर्न सकिने सुरुङ निर्माण आयोजनाको हालसम्म करिब २६ प्रतिशत र सुरुङको करिब ४४ प्रतिशत निर्माणको काम सकिएको छ ।

जापानको हाज्मा आङ्दो कर्पोरेशनले बनाइरहेको सुरुङमार्ग र सडक समेत साढे पाँच किमी लामो रहेकोमा सुरुङको हिस्सा २.६८ किलोमिटर रहेको छ । आयोजनाले मुख्य सुरुङसँगै आकस्मिक घटनामा उद्धार र सहायताका लागि दोस्रो सुरुङमार्ग समेत बनाइरहेको छ ।

यो प्रत्येक २५० मिटरमा मुख्य सुरुङमार्गसँग भित्र–बाहिर गर्न मिल्ने गरी जोडिने छ । सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुग्नुभएका चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले आयोजनाले बनाउने भनिएको फ्लाइओभरको जग्गा मुआब्जा वितरणमा देखिएको विवादलाई समेत केही दिनभित्रै अन्त्य गरी छिटो आयोजना पूरा गर्न सहयोग गर्ने बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुरुङ मार्ग निर्माणले नेपाली प्राविधिकलाई शिप हस्तान्तरण गर्ने हुँदा अन्य ठाउँमा सुरुङ बनाउन सहज हुने अपेक्षा गरिएको छ । साथै काठमाडौ प्रवेश गर्ने मुख्य नाकामा हुने घण्टौँको ढिलाई अन्त्य भई आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.