चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सुरु
काठमाडौं- चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौँ हुँदै थानकोटसम्म ऋषिसिद्धि यातायातका २२ वटा सार्वजनिक बस सञ्चालनमा आएका हुन् ।
यातायात सेवाको नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्दै डिजिटल चाँगुनारायणलाई व्यवस्थित बनाउन नगरपालिकाले यो रुटमा सञ्चालन भएका यात्रुबाहक बसमा जिपिएस प्रणाली जडान गरी एप्समार्फत नियमन तथा अनुगमन समेत गरिने बताउनुभयो ।
नगरपालिकाको यस क्षेत्रमा सार्वजनिक यातायातको सहज पहुँच नपुगिरहेको अवस्थामा आजबाट एकैसाथ सञ्चालनमा आउने २२ वटा बसले यहाँका बासिन्दालाई अब यातायातमा चौतर्फी पहुँच पुगेको बताउनुभयो । चाँगुनारायणबाट भक्तपुरहुँदै रत्नपार्क जाने बससेवा सञ्चालन भइरहेपछि मूलपानी, पेप्सीकोलाहुँदै काठमाडौँसम्म जाने यातायात सेवा नहुँदा समस्या परेकामा अब यो समस्या पनि हटेको उहाँको भनाइ थियो ।
चाँगुनारायणबाट भक्तपुरहुँदै काठमाडौँै जाने र चाँगुनारायणबाटै पेप्सीकोलाहुँदै थानकोटसम्म जान यहाँका बासिन्दालाई अब निकै सजिलो भएको भन्दै उहाँले थानकोटसम्म जाने एउटै रुटको बस यहाँबाट सञ्चालन हुनु निकै उपलब्धि भएको बताउनुभयो ।
चाँगुनारायणबाट काठमाडौँको मूलपानी चौर, पेप्सीकोटा, जडीबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, कुलेश्वर, कलङ्कीहुँदै थानकोटसम्म जाने र सोही रुटबाट फर्कने चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका तर्फबाट चाँगुनारायण–४ का वडाध्यक्ष अध्यक्ष बुद्धिलाल महर्जन र ऋद्धिसिद्धि यातायातका अध्यक्ष लवकुमार केसीले सहमति पत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्