गाडीमा छुटेको तीन लाख ५० हजार सम्बन्धित धनीलाई बुझाइयो

काठमाडौं- काठमाडौँस्थित यात्रुवाहक बसेमा छुटेको रु तीन लाख ५० हजार रकम प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

हिजो बिहान साढे सात बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ शेर्पा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा नम्बर नखुलेको यात्रुवाहक बसमा उक्त रकम छुटेको थियो ।

त्यसपछि शेर्पाले दिएको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त रकम फेला पारी धनीलाई फिर्ता दिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट तत्कालै मातहत एकाइका प्रहरीलाई सूचना प्रवाह गराई उक्त रुटमा चल्ने सम्पूर्ण बसमा जाँच गरिएको थियो ।

सोही क्रममा महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरी टोलीद्वारा यात्रुवाहक बसमा जाँच गर्ने क्रममा रत्नपार्कबाट जहरसिंहपौवासम्म चल्ने बा४ ख ६४३३ नंको यात्रुवाहक बसबाट उल्लिखित नगदसहितको कालो झोला फेला पारेको थियो ।

सार्वजनिक यातायातका सवारी साधनमा यात्रुका सामान छुट्ने गरेको सन्दर्भमा त्यस्ता सवारी साधनका चालक, सहचालकले सामान प्रहरीमार्फत सम्बन्धित धनीलाई बुझाउन सहयोग गरी प्रदर्शन गरेको सकारात्मक व्यवहारप्रति परिसरले सम्मान प्रकट गरेको छ ।

परिसरले गलत नियतले कोही कसैले सवारी साधनमा छुटेका उक्त सामान नबुझाई आफूले लुकाएमा मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद–२० को दफा २४१ अन्तर्गत चोरी गर्न नहुने कसुरमा कारबाही हुने चेतावनी पनि दिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.