जग्गा प्लटिङको पर्खाल लगाउँदा खसेको ढिस्कोले पुर्दा दुई मजदुरको मृत्यु

भक्तपुर- चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

चम्पा भन्नेको जग्गा प्लानिङ हो भन्ने सुन्नमा आए पनि खासमा कसको जग्गा प्लानिङ हो भन्नेबारेमा यकिन नआएकाले अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

लामो समयदेखि जग्गाको कारोबार गर्दै आएकी चम्पा कुस्मा प्रहरीको उच्च अधिकारीको पत्नी भएकीले प्रहरीले शव छिटो लगेर घटनाको गम्भीररूपमा अनुसन्धान नगर्न खोजेको भन्दै स्थानीयले घट्नास्थलमै विरोध गरी शव लैजान रोकेको स्थानीयले जानकारी दिए ।

स्थानीय प्रत्यक्षदर्शीले भने भिरालो जग्गालाई सम्याएर पुरेको माटाको ढिस्को माथिबाट खसेर पर्खाल लगाउँदै गरेको मजदुर पुरिएको जानकारी दिएका छन् । स्थानीय राजेन्द्र थापाले दिउँसो पर्खाल लगाउने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएपछि तीन ट्रक प्रहरी आएर शव लैजान खोज्दा स्थानीयले विरोध गरेको जानकारी दिनुभयो ।

मजदुरको बिमा नभएको, जथाभावी प्लानिङ गरेर ज्यान गएको भन्दै उहाँले प्लानिङको स्वीकृति दिनेदेखि प्लानिङ गर्ने र पर्खालको ठेक्का लिने सबैको घट्नामा लापर्वाही भएको बताउनुभयो ।

घट्नास्थल पुगेका स्थानीयले सस्तोमा भिरको जग्गा किनेर डोजरले सम्याएर भिरमा गरिएको जग्गा प्लानिङले एकातिर दुई जनाको ज्यान गएको र यस्तो जग्गा किनेर घर बनाउने सयौँको ज्यान जोखिममा पर्ने सम्भावना रहेको भन्दै भिरपाखा मासेर जग्गा प्लानिङ गर्ने र स्वीकृत दिने निकायलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

प्रहरीले घट्ना दिउँसोको भए पनि राति करिब ८ बजे शवलाई परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको थियो । घट्नाबारे विस्तृत अनुसन्धान भइरहेको प्रनाउ पाण्डेको भनाइ छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.