चीनले उत्पादन गरेको कोभिड विरुद्धको भ्याक्सिनको परीक्षण अन्तिम चरणमा
इन्डोनेसियामा १६ सय बढीमा अन्तिम परीक्षण गरिंदै

काठमाडौं- चिनियाँ कम्पनीले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणमा इन्डोनेशियाका एक हजार ६२० थप सहभागीहरू सामेल भएका छन् ।
अन्तिम चरणतर्फ पुगेको खोप परीक्षणमा सहभागी भएकाहरुलाई खोप दिइनुअघि पीसीआर परीक्षण गरिनुका साथै स्वास्थ्य परीक्षण पनि गरिएको थियो ।
उनीहरूलाई खोपको पहिलो मात्रा दिइएको १४ दिनपछि मात्र दोस्रो मात्रा दिइएको हो । खोपको परीक्षण जुलाई महिनाको पहिलो साताबाट शुरू गरिएको हो ।
यसैबीच विश्वभर कोरोनाभाइरसका कारण संक्रमित हुनेको संख्या दुई करोड १३ लाख ३५ हजार ९६० पुगेको छ भने मृत्यु हुनेको संख्या ७ लाख ६२ हजार ४३८ पुगेको छ ।
सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा ६० हजार ४ सय ९९ संक्रमित थपिएपछि संक्रमित संख्या ५४ लाख ७६ हजार नाघेको छ । सबैभन्दा बढी दोस्रो प्रभावित मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टामा ४९ हजार २७४ संक्रमित थपिएका छन् भने थप १ हजार बढीको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ संक्रित थपिँदा त्यहाँ संक्रमितको संख्या २५ लाख २५ हजार नाघेको छ । कोरोनाभाइरसका सबैभन्दा तेस्रो बढी प्रभावित भारतमा हालसम्म ४९ हजार १३४ जनाको मृत्यु भएको छ ।-






प्रतिक्रिया राख्नुहोस्