वनको जग्गा अतिक्रमण हुननदिने मन्त्री यादव प्रतिबद्धता

काठमाडौं- वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताउनुभएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा निर्मित सशस्त्र वनरक्षक व्यारेक भवनको आज उद्घाटन गर्दै उहाँले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरियो वन नेपालको धन हो, आफ्नो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन, वन माफियालाई कानुनी दायरामा ल्याउने छु ।” यसैगरी मन्त्री यादवले सुकुम्बासीको नाममा गरिएको जग्गा अतिक्रमणलाई अतिक्रमणमुक्त गराएर सही व्यक्ति तथा वास्तविक सुकुम्बासीलाई मात्रै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले मन्त्रालयको निर्देशनबमोजिम वन–जङ्गलको संरक्षणका लागि काम गर्न वन रक्षकलगायत सबै कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।

वन रक्षकमा कम जनशक्ति भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ती गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सराहनासमेत गर्नुभयो । त्यसैगरी सर्लाही क्षेत्रमा भइरहेको वन अतिक्रमण र तस्करीलाई उन्मूलन गर्न सबै तह, तप्का तथा क्षेत्रबाट आवश्यक सहयोग मिल्ने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.