सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राहीबाट रकम फिर्ता गराउने कार्य शुरु

मोरङ- विराटनगर महानगरपालिकाले मृत्यु भईसके पनि सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राहीबाट रकम फिर्ता गराउने कार्य शुरु गरेकेा छ ।
प्राविधिक कारणले केही जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता लिंदै आएको महालेखा परिक्षकको प्रतिवेदनमा आएपछि विराटनगर महानगरपालिकाले रकम फिर्ता गराउन पत्राचार गरेको र १० जनाको रकम फिर्ता समेत भईसकेको महानगरपालिकाले जनाएको छ ।
७० वर्षमाथिका जेष्ठ नागरिकहरुको भत्ता सम्बन्धित नातेदारले बुझ्ने गरेको र मृत्यु दर्ता नगराउने गरेका कारण यस्तो समस्या आउने गरेको विराटनगर महानगरपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख जस्टिस चौधरीले जानकारी दिनुभयो ।
सरकारले जेष्ठ नागरिक, दलित, एकल महिला, विधवा, पर्ूण्ा अपांगता, अति अशक्त, दलित बालबालिका गरी ७ प्रकारको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ । विराटनगर महानगरपालिकामा १३ हजार ९ सय २३ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता लिंदै आएका छन् ।
सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ मा निवृत्तिभरण वा नियमित पारिश्रमिक लिनेहरुले सामाजिक सुरक्षा भत्ता लिन नपाइने व्यवस्था भएकाले विराटनगर महानगरपालिकाले त्यस्ता लाभग्राहीको नाम काट्न थालेको जनाएको छ ।-





प्रतिक्रिया राख्नुहोस्