प्रदेश नं. १ र गण्डकीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन नगर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले प्रदेश नं.१ र गण्डकी प्रदेशका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गरी आमनिर्वाचनको मिति तोकिसकेको र प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला प्रदेश नं.१ र गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत बजेट दिन कार्यविधि बनाएर सांसदलाई योजना छनौट गर्न लगाइएको र योजना बाँड्ने तयारी रहेको जानकारी प्राप्त भएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आसन्न निर्वाचनका प्रक्रियाहरू सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वाभाविक मान्न नसकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रदेश सरकारहरूलाई विशेष कार्यक्रमको नामबाट छोटो अवधिमा योजना र बजेट वितरण गर्ने कार्यक्रम राख्नुको कारणबारे स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निर्वाचन आचारसंहिता लागू हुने मिति नजिक रहेको अवस्थामा प्रदेश सरकारले लागू गर्न खोजेको यस कार्यक्रमले निर्वाचनको निष्पक्षतामा असर गर्दैन भन्ने के निश्चितता छ र यसले समग्र निर्वाचनको निष्पक्षता र मतदातालाई प्रभावित गर्दैन भन्ने के आधार छ? आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

प्रदेश सरकारबाट ‘प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन) कार्यविधि, २०७९’ बमोजिमका प्रक्रिया अगाडि बढाइएको अवस्था भए तत्काल स्थगित गरी त्यसको जानकारी यथाशीघ्र निर्वाचन आयोगलाई गराउन र आसन्न निर्वाचन सम्पन्न नभएसम्म कार्यक्रम कार्यान्वयन नगर्न, नगराउन आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.