गोरखा अस्पतालमा हेमोडायलासिस सेवा सुरु

गोरखा– गोरखा अस्पतालमा मंगलवारबाट हेमोडायलासिस सेवा सुरु भएको छ ।
पहिलो दिन एकजना बिरामीको हेमोडायलासिस गरेर सेवा थालिएको थियो भने बुधबार दुई जना बिरामीले सेवा लिएका अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो ।
पहिलो पटक मिर्गौलाको डायलासिस अन्य अस्पतालमा गराएका र निरन्तर सेवा लिनुपर्नेहरुका लागि यहाँ नै हेमोडायलासिस सुरु भएको हो ।
यहाँबाट हेमोडायलासिस गराउनुपर्ने बिरामीले पूर्व जानकारी गराउनुपर्ने अस्पतालले सुचना गरेको छ । हेमोडायलासिस सेवा जिल्ला अस्पतालमै सुरु भएपछि बिरामीहरुलाई फाइदा पुगेको छ । अस्पतालले यो सेवा निशुल्क दिएको छ ।
तालिमप्राप्त विशेषज्ञ, फिजिसियन, एमडिजिपी चिकित्सक नभएको खण्डमा समस्या भने हुन सक्छ । विशेषज्ञ चिकित्सकको दरबन्दी रहिरहने हो भने सेवा निरन्तर दिन सकिने अस्पतालले जनाएको छ । हेमोडायलासिसमा प्रयोग हुने उपकरण लामो समयदेखि अस्पतालमा थन्किएको थियो । नयाँ भवन निर्माण भएसँगै अस्पतालले यो सेवा थप गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्