सप्तरीका मिटरब्याज पीडितहरूसँग कार्यदलको छलफल, ११२ उजुरी दर्ता

सप्तरी– सप्तरीका मिटरब्याज पीडितहरुको गुनासो सन्नु सरकारले गठन गरेको कार्यदल सप्तरी आइपुगेको छ ।

देशैभरका मिटरब्याजी पीडितको वास्तविक समस्या र पिडालाई मिडियाले उजागर गर्नुभएको कारण सरकार गम्भीर भएर यसको जरासम्म गई समस्या समाधानका लागि कार्यदलले स्थानीय सरकार, बैंकिङ्ग क्षेत्र, प्रहरी, पत्रकार सबैसँग सहकार्य गरेर तीव्रताले काम गरिराखेको कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले बताउनुभयो ।

मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक एवं गृह मन्त्रालयका सहसचिव डा. भुसाल नेतृत्वको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दर्ता गराएका पीडितहरूसँग छलफल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित छलफलमा मिटरब्याजी पीडितहरूले आ–आफ्ना गुनासोहरू कार्यदलसमक्ष राखेका छन् । सप्तरीमा मिटरब्याजी पीडितहरूको तर्फबाट १ सय १२ उजुरी दर्ता भएको छ । उजुरीमा तीन गुणा बढीको तमसुक बनाएको, कम थैली राखेर जग्गा रजिस्ट्रेसन पास गरेको, साँवा, ब्याज भुक्तान गरे पनि तमसुक नच्यातेको, एउटै ऋणका तीन–तीनवटा तमसुक बनाएको तथ्यांक सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कार्यदललाई जानकारी दिनुभयो ।

जिल्लाका १८ वटा स्थानीय तहमध्ये सप्तकोशी नगरपालिका बाहेक १७ वटै स्थानीय तहमा मिटरव्याज पीडितहरुले १ सय १२ वटा उजुरी परेको प्रमुख जिल्ला अधिकारी गौतमले कार्यदललाई जानकारी गराउनुभयो ।

मिटरब्याजी पीडितको गुनासो सुन्दै कार्यदलले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासनमा छलफलको माध्यमबाट मिल्ने उजुरीलाई छलफलबाटै समाधान निकाल्ने र छलफलबाट मिल्न नसक्ने उजुरीबारेमा कार्यदलले आवश्यक सुझाबसहित प्रतिवेदन पेस गर्ने जनाएको छ । कार्यदलमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशकुमार आचार्य, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहट्ठा लगायका कार्यदल सदस्यहरूले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्लाका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरु, स्थानीय तहका प्रमुखहरु, मिटरब्याज पीडितहरुको गुनासो र छलफल समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.