काठमाडौँ उपत्यकामा आदेश उल्लङ्घन गर्ने मोटरसाइकल बढी
काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन् ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज दोस्रो दिनसम्म कुल तीन हजार ५०२ सवारी साधनले आदेश उल्लङ्घन गरेको पाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्यसमा सबैभन्दा बढी तीन हजार १४५ मोटरसाइकल छन् । जम्मा ३५७ चारपाङ्ग्रे गाडीले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको छ ।
पहिलो दिन बिहीबार सबैभन्दा बढी दुई हजार ९०२ सवारी साधन आदेश नमानेर गुडेको थियो । आज दोस्रो दिन आदेश उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्या ह्वात्तै घटेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
उहाँका अनुसार आज भने ६१० सवारी साधनले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको छ । त्यसमा ५३० मोटरसाइकल छन् । उहाँले पहिलो दिनभन्दा आज भने शहरबजार, सडक तथा पसलमा धेरै नियम मानेको पाइएको र शान्तिपूर्ण रुपमा आदेशको कार्यान्वयन भइरहेको बताउनुभयो ।
त्यसरी आदेश नमान्ने गाडीलाई राति ८ बजेपछि मात्रै छाड्ने गरिएको छ । अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारवाहीको दायरामा लगिने उहाँले बताउनुभयो । त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने छ ।-
प्रतिक्रिया राख्नुहोस्