तनहुँको नतिजामा आउला त बदलाव ?

तनहुँ– निर्वाचनको मिति नजिकिएसँगै यतिबेला तनहुँका मतदातासँग उमेदवारहरुको भेटघाट बाक्लिँदै गएको छ । केही अगुवा कार्यकर्ता लिएर गाउँदेखि सहरसम्म घरदैलो अभियानमा निस्किएका नेताहरु कतिपय बेला त खेतबारीमा नै मतदाता भेट्न दौडिरहेका भेटिन्छन ।

दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको तनहूँमा यतिखेर राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । मुख्य चाडवाडपछि लगत्तै नेताहरु मतदाता र अगुवा कार्यकर्तालाई भेट्दै गाउँ पसेपछि चुनावी सरगर्मी बढेको हो ।

त्यसो त हरेक निर्वाचनमा तनहूँ चर्चाको शिखरमा हुन्छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहूँबाट सातौँ पटक चुनावी मैदानमा हुनुहुन्छ । यति मात्र होइन कुनैबेला पौडेलकै सहकर्मी गोविन्दराज जोशी अहिले पौडैलसँगै चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैले पनि यहाँको निर्वाचन अलि रोचक बनेको छ। तनहूँ–१ बाट पौडेलसँगै नेता जोशी र एमालेका एकबहादुर राना चुनावी प्रतिश्पर्धामा हुनुहुन्छ ।

तनहूँ १ क मा गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र एमालेका रामबहादुर गुरुङबीच प्रतिश्पर्धा छ । तनहूँ १ ख मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हरिबहादुर चुमान र एमालेका पूर्ण बहादुर गुरुङबीच नै मुख्य प्रतिस्पर्धा छ ।

स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने तनहूँ १ मा भएका ५ वटा पालिका मध्ये ३ वटामा नेपाली कांग्रेस र एमाले तथा माओवादी केन्द्रले १र१ पालिकाको प्रमुख जितेका थिए । स्थानीय तहको गणितलाई हेर्ने हो भने कांग्रेस र माओवादीको गठबन्धन बलियो देखिन्छ । तर यहाँका मतदाता स्थानीय तहको निर्वाचनको गणित केन्द्रीय निर्वाचनमा नमिल्ने तर्क गर्छन् । कांग्रेसकै नेता जोशी स्वतन्त्रबाट लडेपछि निर्वाचनको गणितमा केही हेरफेर हुनसक्ने कतिपय मतदाताको भनाइ छ ।

उता तनहूँ २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी र एमालेका किरण गुरुङ मुख्य प्रतिस्पर्धी बन्नुभएको छ। स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने ५ वटा पालिकामध्ये ३ वटामा एमाले र २ वटा पालिकाको प्रमुखमा नेपाली कांग्रेस बिजयी भएका थिए । यहाँको निर्णायक मत माओवादीको भएको चर्चा मतदाताहरुबीच पाइन्छ । जहाँ नेपाली कांग्रेस माओवादीसँगै गठबन्धन गरेर निर्वाचन लडेको छ । तनहूँ २ क मा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने सत्तासाझेदार दलका उमेदवार हुनुहुन्छ भने न्यौपानेसँग एमालेका श्यामराजा महत प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । तनहूँ २ ख मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आले र एमालेका केदार सिग्देलबीच नै मुख्य प्रतिश्पर्धा छ ।

करिब दुई लाख ४८ हजार ५ सय मतदाता रहेका तनहूँ भौगोलिक रुपमा गण्डकी प्रदेशका अरु जिल्ला भन्दा सुगम मानिन्छ । विकासका आधारभूत संरचना बनेका भए पनि रोजगारीको अवसर नभएको गुनासो मतदाताको छ । यसलाई सम्बोधन गर्न दल र नेताका योजना त छन् तर आश्वासन पाएर पूरा नभएको तितो अनुभवलाई तनहूँका मतदाताले बिर्सिएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.