कृष्णगोपाल श्रेष्ठ चौथो पटक प्रतिनिधिसभामा प्रवेश

काठमाडौं- नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी हुनुभएको हो ।

यसअघि उहाँ विसं २०४८ मा काठमाडाँै निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडौं निर्वाचन क्षेत्र नं ७ तथा विसं २०७४ मा काठमाडौँ क्षेत्र नं ९ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । काठमाडौँ महानगरपालिका १४ बल्खु स्थायी ठेगाना रहेका श्रेष्ठको विसं २०१५ असोज १४ गते पिता हरिलाल श्रेष्ठ र माता हरिमाया श्रेष्ठका कोखबाट जन्म भएको हो ।

अर्थशास्त्रमा स्नाकोत्तर श्रेष्ठले विसं २०५९ देखि २०६० मा स्थानीय विकास राज्यमन्त्री तथा विसं २०७७ देखि २०७८ सम्म शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको थियो । एमाले पार्टी कार्यालयको मुख्यसचिवका रुपमा समेत उहाँले जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

तत्कालीन नेकपा(माले) विद्यार्थी सङ्गठनको क्याम्पस कमिटी अध्यक्षबाट राजनीतिमा प्रवेश गर्नुभएका श्रेष्ठ अनेरास्ववियूको त्रिवि कमिटी अध्यक्ष हुँदै विसं २०४७ मा अखिल नेपाल किसान सङ्घको सचिव हुनुभयो । विसं २०४९ मा राष्ट्रिय परिषद् सदस्य तथा विसं २०४९ देखि २०७५ सम्म पार्टी केन्द्रीय सदस्य रहनुभएका श्रेष्ठ हाल पोलिटब्यूरो सदस्य हुनुहुन्छ । विद्यार्थी जीवनदेखिनै प्रगतिशील राजनीतिमा सक्रिय श्रेष्ठ पुष्पलाल स्मृति प्रतिष्ठान र मदन भण्डारी स्मृति प्रतिष्ठानसँग आबद्ध हुनुहुनछ । उहाँकी धर्मपत्नी बिना पनि राजनीतिमै हुनुहुन्छ ।

यसअघि उहाँ राज्यव्यवस्था तथा सुशासन समिति सदस्यकारुपमा हुनुहुन्थ्यो । विसं २०३४ देखि २०४७ सम्म पटक–पटक गरी दुई वर्ष भूमिगत र प्रहरी हिरासत जीवन बिताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.