जाजरकोट जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने

काठमाडौं– जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ।

जाजरकोट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित राजीव विक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो।

१६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिने प्रदेश सभा सदस्य शाहले बताउनुभयो ।

आफ्नो अनुरोधलाई स्वीकार गरेर आफन्त गुमाएका बालिकाको शिक्षादिक्षाको जिम्मा लिन सहमत भएकोमा शाहले माइती नेपाललाई धन्यवाद समेत दिनुभयो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बुधबार बिहान शाहलाई फोन गरेर पाँच बालिकाको शिक्षादिक्षाको जिम्मा लिन आफूहरू तयार रहेको जानकारी दिनुभएको थियो ।

अभिभावक गुमाएका बालिकाहरूको विवरण शाहसँग माग गरिएको र उपलब्ध भएपछि बाँकी प्रक्रिया अघि बढ्ने माइती नेपालले जनाएको छ । स्थानीय तहसँग समन्वय गरेर छिट्टै माइती नेपाललाई विवरण उपलब्ध गराउने, बाँकी बालबालिका र पीडित परिवारलाई आफूले समेत सक्दो सहयोग गर्ने शाहको भनाइ छ ।

सोमबार जाजरकोटको छेडागाड नगरपालिका-४ मा भएको जीप दुर्घटनामा छेडागाडका नौ र दैलेखको भगवतीमाई गाउँपालिकाका तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.