प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो ।
भेटपछि फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले आफूहरू एकै ठाउँमा रहेको र राष्ट्रपतिका बारेमा एक–दुई दिनभित्रै सहमति गर्ने कोसिस भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गठबन्धन कायमै छ, हामी सहमतिमै छौँ, हामी मिलेरै अगाडि बढ्छौँ, सत्ता साझेदार सरकार चलिरहेको छ, गठबन्धन टुट्ने–भत्कने कुरै छैन । यसलाई अझ कसरी राम्रो बनाउने भनेर लागिरहेका छौँ ।”
एमाले अध्यक्ष ओलीले भने प्रधानमन्त्री दाहालसँग पाँच वर्ष नै यही गठबन्धनलाई कायम राख्नुपर्ने र राष्ट्रपतिको सन्दर्भमा पुस १० गते भएको गठबन्धनको सहमतिलाई कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेको ओलीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै गएपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिमा सहमति जुटाउनेबारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालले राष्ट्रपति सबै दलको सहमतिमा चयन गर्ने बताउँदै आउनुभएको छ भने अध्यक्ष ओलीले पुस १० को सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्ने अडान राख्दै आउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्